काठमाडौँ । भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययन नेपाली विद्यार्थीलाई अध्ययनका लागि फर्कन आग्रह गरेका छन्।
होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका कारण नेपाली विद्यार्थीहरु सुरक्षित रहन नेपाल फर्किएकामा उनीहरुलाई पढ्ने वातावरण बनिसकेको भन्दै अध्ययनका लागि फर्कन आग्रह गरेका हुन् ।
उनले नेपाली काउन्सिलरद्वय संजीव दास शर्मा र नवीनराज अधिकारीसँग कुरा गर्दै मृतक प्रकृतिको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिँदै घर आएका विद्यार्थीलाई क्याम्पसमा फर्कन आग्रह गरेका हुन् ।
उनले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने पनि आश्वासन दिएको नेपालस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा सन्देश राखी जनाएको छ ।
मुख्यमन्त्रीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः चालु गर्न आग्रह गरेका हुन् । बुधबार मात्रै १२६ नेपाली विद्यार्थी घर फर्केका छन् ।
केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्य सचिव मनोज आहुजासहित नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरिएको थियो ।
यसका साथै परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले यस विषयमा मन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकोसमेत दूतावासले जनाएको छ ।